करोडपतिबाट कसरी त्रिपालमुनि पुगे ऊनी

करोडपतिबाट कसरी त्रिपालमुनि पुगे ऊनी


रासस/पश्चिम सुर्खेतको तीखाकुना बाबियाचौरका डम्बरबहादुर शाहीले घरको आँगन पक्की बनाउने भन्दै खन्दै गर्दा २० तोलाको सुनको मूर्ति भेटाए । साउनको १९ गते सुनको मूर्ति आँगनमा भेटेपछि खुसीले मच्चिएका शाहीले गाउँभरि भेटिएको मूर्ति देखाउँदै हिँडे ।
 
कसैले भने सुनको मूर्ति त्यसरी भेटिनु अशुभ हुन्छ, कसैले भने यो मूर्ति करोडौँमा बिक्री हुन्छ, तँ धनी हुने भइस् । धेरैले अशुभ हुन्छ भनिदिएपछि चिन्तित बनेका शाहीको मनमा अनेक तर्कहरु खेल्न थाले । उनलाई लाग्यो मूर्तिका कारण गाउँमा अनिष्ट नहोस् ।



मूर्ति लगेर नजिकै बगिरहेको भेरी नदीमा बगाइदिउँ भन्ने सोच पनि उनलाई नआएको होइन । मान्छेको लोभी मनले उनलाई त्यसरी भेटिएको मूर्ति बगाउन दिएन । आखिर गाउँमा मात्रै होइन जिल्लाले नै ठूलो अनिष्ट भोग्नुप¥यो । साउनको अन्त्यमा आएको अविरल वर्षाको बाढीले शाहीको सुनको मूर्तिसहित, घरजग्गा र व्यापार व्यवसाय केही बाँकी नराखी सबै बगाइदियो । पात झर्ने पालो हावा लाग्ने पालो भने झैँ अनिष्ट भयो । गाउँलेले ठूलो क्षति व्यहोर्नु प¥यो । बाढीपहिरो आउनु पूर्व शाहीलाई खान लाउन कुनै दुःख हुँदैनथ्यो, आयआर्जनका थुप्रै माध्यमहरुबाट मनग्य आम्दानी लिने उनले १५ जना युवकलाई रोजगारी पनि दिएका थिए ।
 
पहिले अरुलाई रोजगारी दिएर खाने शाहीलाई अहिले अरुसँग मागेर खान परेको छ । त्रिपालमुनिको दैनिकी सुरु भएपछि अहिले उनलाई स्वास्थ्य चौकीको एम्बुलेन्स चलाउने जिम्मा दिइएको छ । त्यसैबाट दैनिकी गुजार्ने गरेका छन् शाही परिवारले । मान्छेको भाग्य फेरिन के बेर लाग्दो रै’छ र बूढापाकाहरु भन्ने गर्थे । एकैछिनमा गरिब मान्छे धनी भएको र धनी मान्छे गरिब हुन बेर लाग्दैन । यस्तै उखान मिल्न गयो उनै शाहीलाई पनि । बाढीपहिरो आउनुपूर्व सम्पन्न रहेका उनलाई अहिले त्रिपालमुनिको कष्टकर जीवन बिताउन परेको छ । “छोराछोरी साना छन्,” उनी भन्छन् – जस्तै भए पनि आफ्नो लागि घर, महलसरह थियो । अहिले सबै सहनुपरेको छ । जाडो बढेको छ । ओढ्ने, लगाउने कपडा छैन । आफूलाई जे भए पनि छोराछोरीलाई दुःख परेको हेर्दा मन साह्रै दुख्ने गरेको पीडा उनले सुनाए । ओरालो लागेको मृगलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन भने झै शाही पनि आफ्नो सबै स्वाहा भएको टुलुटुलुमात्रै हेर्न विवश छन् । गाउँमा राम्रै इज्जत, प्रतिष्ठा बनाएका ऊसँग गाउँकै १५ जना स्थानीय युवक आश्रित थिए । रक्सीको डिलर, खाद्यको डिलर र कुखुराको ठूलो फार्म सञ्चालनमा ल्याएका शाहीलाई आर्थिक समस्या कहिले देखिएको थिएन । अहिले बाढीले आफूलाई सुकुम्बासी बनाइदिएको उनी सुनाउँछन् ।

Post a Comment

Copyright © New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes