५ वर्षभित्रमा राजधानीमा मेट्रो  सञ्चालन

५ वर्षभित्रमा राजधानीमा मेट्रो सञ्चालन

मेट्रो रेलको तस्बिर इन्टरनेटबाट लिएइको हो
भारतको राजधानी नयाँ दिल्ली भ्रमणको क्रममा जाँदा होस् वा युरोपेली मुलुकको यात्रामा जाँदा मेट्रो रेल पक्कै चढ्नुभएको छ होला ।त्यस्तै मेट्रो चढ्ने सपना आगामी केही वर्षभित्रै पूरा हुने भएको छ । सरल सहज एवम् सस्तो यात्राका लागि विदेशी मुलुकमा लोकप्रिय त्यसप्रकारको रेल सञ्जाल विस्तारका लागि लगानी बोर्डले प्रक्रिया अगाडि बढाएको छ ।

आधुनिक शहरको विशेषताका रूपमा पछिल्लो दिनमा मेट्रो रेलको विकास गर्ने र त्यसलाई सञ्चालन गर्ने प्रचलन बढ्दै गएको छ ।विदेशी मुलुकमा विगत केही वर्षदेखि सञ्चालनमा आएको मेट्रो रेल हाम्रै मुलुकमा पनि आगामी केही वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ ।


काठमाडौं उपत्यकाभित्रको बढ्दो जनघनत्व र सार्वजनिक सवारी साधनमा देखिएको विकृतिलाई रोक्नका लागि रेल सञ्जालको विकास गर्न लागिएको बोर्डले जनाएको छ ।राजधानीवासीलाई सरल र सहज रूपमा यात्रा गर्ने वातावरण बनाउने ध्येयका साथ निर्माण गरिने रेल सञ्जालको हाल सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।

काठमाडौँ उपत्यकाका तीनवटै सहरलाई मेट्रो सञ्जालमा जोड्ने र भरपर्दो यातायात सुविधा दिने लक्ष्य राखिएको छ ।यस्तै चक्रपथभित्र चारवटा रेडियल लाइनका आधारमा रेल सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ ।

हाल अध्ययन भइरहेको कलङ्की सिनामङ्गलको दूरी ९.३ किलोमिटर, कोटेश्वर गोङ्गबु ९.४ किलोमिटर, सातदोबाटो नारायणगोपाल चोक ११.५ किलोमिटर र बल्खु चाबहिल ८.४ किलोमिटर हुने देखिएको छ ।चक्रपथबाहेकको अन्य चारवटै सञ्जालको केन्द्रबिन्दु भने जमललाई बनाइने छ ।

सकेसम्म काठमाडौँ, भक्तपुर, ललितपुरलाई नै रेल सञ्जालमा जोड्ने गरी अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययनको काम कोरियाली कम्पनी चुङसुक इन्जिनियरिङले सन् २०१२ को नोभेम्बरदेखि गरिरहेको छ ।

काठमाडौं मेट्रो नाम दिइएको उक्त रेल सञ्जाल आगामी पाँच वर्षभित्र सञ्चालनमा ल्याउने बोर्डले लक्ष्य राखेको छ । अनुमानित लागत रु पाँच खर्ब ४७ अर्ब लाग्ने मेट्रो निर्माणका लागि विभिन्न विदेशी निर्माणकर्ताले चासो देखाएका छन् ।हाल उक्त परियोजनाका सम्बन्धमा स्वदेशी लगानीकर्ताको समूह मेट्रो नेपाल प्रालिसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा समावेश गर्ने विषयका बारेमा छलफल भइरहेको छ ।सबै अध्ययन प्रक्रिया सम्पन्न गरेर लगानी जुटाउनका लागि बोर्ड लागिपर्ने कार्यकारी अधिकृत राधेश पन्तको भनाइ छ । स्रोतः हिमाल खबर

Post a Comment

Copyright © New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes